बाढीपीडित ५० परिवारलाई चाडपर्व लक्षित राहत वितरण
नुवाकोट, कात्तिक १२ । ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–६ का ५० परिवारलाई चाडपर्व लक्षित राहत सामग्री वितरण गरिएको छ ।
बाढीबाट प्रभावित परिवारलाई दैनिक जीवनयापनमा सहजता ल्याउने र चाडपर्वका बेला आवश्यक सामग्री जुटाउन सहयोग पुर्याउने उद्देश्यले राहत वितरण गरिएको हो ।
भारतको हरियाणा राज्यस्थित सेक्टर–१६ मा रहेको भरत स्केच प्रालि तथा थक्राल समूहका वरिष्ठ ड्रोन इन्जिनियर प्रशान्तकुमार सिंहको नेतृत्वमा राहत अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत प्रभावित परिवारलाई दैनिक उपभोग्य वस्तु तथा भान्सामा आवश्यक सामग्री वितरण गरिएको थियो ।
स्थानीय युवा विष्णुप्रसाद सापकोटाको समन्वयमा प्रशान्तकुमार सिंह, अमिरराज खरेल, क्रिस्टिना भुजेल, दीपक हेङ्गजु र निशान्त सिंहलगायतले प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।
विपद्का कारण समस्यामा परेका परिवारलाई आवश्यक सामग्री उपलब्ध गराएर उनीहरूको दैनिकी सहज बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको सिंहले बताए ।
विपद्बाट प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन मानवीय सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले राहत वितरणले प्रभावित परिवारलाई दैनिक आवश्यक सामग्री जुटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रभावित समुदायसँग सहकार्य गर्दै राहत तथा सहयोगका गतिविधिमा सहभागी हुनु सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धता भएको उनको भनाइ छ । अभियानले विपद् प्रभावित नागरिकलाई सहयोग गर्न व्यक्ति तथा संस्थाबीच सहकार्य र एकताको आवश्यकता रहेको सन्देशसमेत दिएको छ ।

