बाढी गएको दुई महिना बित्दा पनि न्याय नपाएको पीडितको गुनासो, ३३ सदस्यीय सरोकार समिति गठन



नुवाकोट, कात्तिक १२ । भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढी गएको दुई महिना बितिसक्दा पनि राहत, पुनर्निर्माण र पुनर्वासको काम प्रभावकारी रूपमा अघि नबढेको भन्दै बाढीपीडितले गुनासो गरेका छन्। पीडितले आफ्ना समस्या र माग सरकारसमक्ष सशक्त रूपमा पुर्‍याउन नुवाकोटमा भेला गरी भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति गठन गरेका छन्।

विदुरमा मंगलबार भएको बाढीपीडितको भेलाले विदुर नगरपालिका–५ देवीघाटका सूर्यबहादुर कँडेलको संयोजकत्वमा ३३ सदस्यीय समिति गठन गरेको हो। बाढीबाट प्रभावित परिवारले अझै उचित राहत पाउन नसकेको, पुनर्निर्माणमा ढिलाइ भएको र सुरक्षित पुनर्वासको सुनिश्चितता नभएको भन्दै पीडितले साझा आवाज उठाउन समिति गठन गर्नुपरेको बताएका छन्।

समितिको सहसंयोजकमा विदुर नगरपालिका–१ ढुंगेका सुरेन्द्रराज केसी, विदुर–७ का रामहरि अधिकारी र विदुर–१० का अष्टमान डंगोल चयन भएका छन्। सचिवमा विदुर–१ का नवीन्द्रमान प्रधान, सहसचिवमा किरण अधिकारी र कोषाध्यक्षमा शम्भु सिग्देल चयन भएका छन्। समितिका सदस्यमा नारायण श्रेष्ठ, महेन्द्र श्रेष्ठ, सुदीप अधिकारीलगायत छन्।

त्यस्तै, सल्लाहकार समितिमा पूर्वसांसद नारायणप्रसाद खतिवडा, राजेन्द्र श्रेष्ठ, भिक्षु मैत्री, अमजद आलम र दिलबहादुर गुरुङलगायत उद्योगी, व्यवसायी तथा सरोकारवालालाई समेटिएको छ।

समितिले बाढीबाट प्रभावित क्षेत्रका पीडितको समस्या पहिचान गरी सम्बन्धित निकायसँग छलफल गर्ने, राहत वितरणमा देखिएका समस्या समाधान गर्न पहल गर्ने तथा पुनर्निर्माण र पुनर्वासको काम शीघ्र अघि बढाउन तीनै तहका सरकारलाई दबाब दिने जनाएको छ। प्रभावित परिवारका वास्तविक समस्या संकलन गरी स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसमक्ष पुर्‍याउने समितिको तयारी छ।

समितिका संयोजक सूर्यबहादुर कँडेलले बाढीपछि सरकारले घोषणा गरेका राहत तथा पुनर्निर्माणका काममा ढिलासुस्ती भएको र कतिपय वास्तविक पीडितले अझै राहत पाउन नसकेको बताए। उनका अनुसार दीर्घकालीन पुनर्वासको व्यवस्था गर्नु अहिलेको प्रमुख चुनौती बनेको छ। समितिले प्रभावित क्षेत्रमा पुगेर पीडितका वास्तविक समस्या संकलन गरी सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्नेछ।

बाढीपीडितका साझा मागलाई प्रभावकारी रूपमा अघि बढाउन एकता, सहकार्य र सामूहिक नेतृत्व आवश्यक रहेको सहसंयोजक सुरेन्द्रराज केसीले बताए। प्रभावित क्षेत्रको प्रतिनिधित्व हुने गरी साझा धारणा निर्माण गरेर पुनर्निर्माण, पूर्वाधार विकास र व्यवस्थित पुनर्वासका विषयमा एकीकृत आवाज उठाउनु समितिको मुख्य उद्देश्य रहेको उनको भनाइ छ।

अर्का सहसंयोजक अष्टमान डंगोलले बाढीपीडितका समस्या र आवश्यकतालाई स्थानीय तहदेखि संघीय सरकारसम्म पुर्‍याउने, सम्बन्धित निकायलाई जिम्मेवार बनाउने र पुनर्वासको काम प्रभावकारी रूपमा अघि बढाउन निरन्तर दबाब सिर्जना गर्ने बताए। बाढीपीडितको सुरक्षित भविष्य, व्यवस्थित पुनर्वास र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण नै अभियानको मुख्य लक्ष्य रहेको उनले स्पष्ट पारे।

नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले घोषणा गरेको सहयोग पीडितसम्म पुग्न नसकेको र राहत तथा पुनर्निर्माणको कामले गति लिन नसकेको बताए। उनले राहत वितरणमा देखिएका समस्या, क्षतिको उचित मूल्यांकन, पुनर्निर्माणको गति र प्रभावित परिवारको पुनर्वासलाई प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग समन्वय तथा दबाबमूलक कार्यक्रम अघि बढाउनुपर्ने बताए। राहत र पुनर्निर्माणमा भइरहेको ढिलाइमा राजनीतिक प्रभावसमेत हुन सक्ने उनको आशंका छ।

गत भदौ १० गते ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। विदुर नगरपालिकाका बेत्रावती, त्रिशूली, ढुंगे, तुप्चे, सोले, शान्तिबजार, देवीघाट र महादेवफाँटलगायत क्षेत्र प्रभावित भएका थिए। बाढीले बेलकोटगढी नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत क्षति पुर्‍याएको थियो।

बाढीका कारण घर, व्यवसाय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेका प्रभावित परिवारले दुई महिना बितिसक्दा पनि पुनर्निर्माण र पुनर्वासको कामले अपेक्षित गति लिन नसकेको गुनासो गर्दै आएका छन्। पीडितका समस्या समाधान गर्न प्रभावित वडाहरूमा समेत वडा तहका सरोकार समिति गठन गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्