बसोबास रहेको ठाउँमै दशैँ मनाउन आग्रह



काठमाडौं, असोज १९। कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालीहरुको प्रमुख चाड दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ ।

दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भन्दै सर्वसाधारणलाई ‘जुन ठाउँमा छौँ, त्यही ठाउँबाट रहेर दशँै मनाउन’ मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसपटक कोरोना महामारीबाट जोगिएमा दशँै अर्को वर्ष पनि मनाउन सकिने भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाउँबाट अर्को ठाउँमा नजान आग्रह गरे।

उनले महामारीका बेलामा गाउँ सहर आवतजावत गर्दा सङ्क्रमण फैलन सक्ने बताए । मन्त्रालयको ‘कोभिड इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले यस्तो आग्रह गरेको भन्दै उनले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना शुल्क तोक्ने मापदण्ड बनाई स्वीकृतिका लागि पठाउने निर्णय गरेको बताएका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्