साझा पार्टीको प्रश्न‍ – के डा. केसीलाई मार्न खोजेको ?



काठमाडौं असोज १९। साझा पार्टीले चिकित्सा शिक्षा गुणस्तरीयता लगायत माग राखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकारले क्रुर असंवेदनशीलता प्रकट गरेको आरोप लगाएको छ ।

साझा पार्टीले सोमबार विज्ञप्ति निकालेर अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको भन्दै डा केसीलाई मार्नै खोजेको भन्ने प्रश्‍न गरेका छन् । ‘यसपटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन । ‘कुचोले बढार्नु पर्ने कसिंगर, हावाले उडाएर लैजाओस्’ भने झैँ रवैया प्रस्तुत गरिरहेको छ । के सरकारले डा. केसीलाई मार्नै खोजेको हो ?’ विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति
के डा केसीलाई मार्न खोजेको?
साझा पार्टी संचार विभाग

डा गोविन्द केसीले २२ दिनदेखि जारी राखेको अनशनका क्रममा उनको स्वास्थ्य खतरनाकरूपमा नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारको उदासिनताबारे साझा पार्टी गम्भीर चिन्ता प्रकट गर्दछ।

डा केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन्? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपऱ्यो। होइन भने विश्वमै विरलै भेटिने डा केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपऱ्यो।

डा केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन्। तर यिनै दलले पटक पटक सरकारकाे नेतृत्व गर्दा पनि डा केसी उस्तै माग राखेर फेरी फेरी अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय हो।

वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र उनी छ पटक अनशन बसिसकेका छन्। यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन। “कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस्” भनेझैँ रवैया प्रस्तुत गरिरहेको छ। के सरकारले डा केसीलाई मार्नै खोजेको हो?

पछिल्लाे पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा केसी तिनै मागहरूसहित पुन: अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ?

डा केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यवद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन कैलालीदेखि झापासम्मका विभिन्न जिल्लामा २ सातायता दवावमूलक प्रदर्शन गर्दै आएको छ। सरकारी वेवास्ताले डा केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेमा हामी समयमै सचेत गराउन चाहन्छौँ।

शरदराज पाठक
सहप्रवक्ता, साझा पार्टी
१९ असोज २०७७

प्रतिक्रिया दिनुहोस्