प्रदेश ५ को राजधानीको प्रस्ताव पास गराउन नेकपा संसदीय दलको निर्देशन



रुपन्देही असोज १९ । नेकपा प्रदेश नं ५ को संसदीय दलले सरकारले ल्याएको राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पास गराउन प्रदेशसभाका सदस्यलाई निर्देशन दिएको छ ।

सोमबार बसेको बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीको प्रदेश इन्चार्जको हैसियतले प्रदेशसभाका सदस्यलाई सरकारले ल्याएको प्रस्ताव पास गराउनका लागि लाग्न निर्देशन दिनुभएको नेकपाका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए । बैठकले दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ ।

यही असोज १६ गते शुक्रबार प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो । संसदीय दलको बैठक सकिएपछि अबको केहीबेरमा प्रदेशसभा बैठक शुरु हुनेछ ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नेकपासँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसद् बैठक अवरुद्ध गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्