सरकार कहाँ छ?



काठमाडौं, असोज २० । कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म न त निःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाएको छ, न त सरकारी तवरबाट कोरोना संक्रमितलाई ढुक्क हुने गरी भरपर्दो उपचारको व्यवस्था नै गर्न सकेको छ । यति मात्रै होइन, संक्रमितको सम्पर्कमा पुगेकाहरूको कन्ट्याक टेसिङलाई तीव्रता दिने काममा समेत सरकार चुक्दै आइरहेको छ ।

पटक पटकको आग्रह सरकारले नसुनेपछि गत बिहीबार सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेरै भन्यो, ‘पीसीआर परीक्षण निःशुल्क गर ।’ तर, सर्वोच्चको परमादेश आएको पाँचौं दिनसम्म पनि सरकारले पीसीआर परीक्षण निःशुल्क गर्नेबारे कुनै निर्णय लिन सकेको छैन ।

सरकारले पीसीआर परीक्षणको दायरा बढाउन, आइसोलेसनको संख्या बढाउन र भरपर्दो उपचारको व्यवस्था गर्न नसक्दा यकिन संक्रमित खुल्न सकेका छैनन् । बरु अस्पताल भर्ना भएकालाई १० दिन पछि पीसीआर गराएर घर पठाउने भन्दै सरकार संक्रमितमाथि क्रूर व्यवहार देखाउँदै अघि बढिरहेको छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अदालतको सम्मानका लागि पनि सरकारले आदेशअनुसार निर्णय लिनुपर्ने बताइन् । ‘अदालतको आदेशको पालना पहिले सरकारबाटै हुनुपर्छ तर त्यस्तो नहुने क्रम बढ्दो छ, यो बेथिति हो, सरकारले अदालतको सम्मानका लागि पनि आदेशको पालना गर्नुपर्छ,’ पूर्वप्रधानन्यायाधिश कार्कीले राजधानीसँग भनिन् ।

सरकारले जनताका मुद्दा र सुझावलाई नसुनेको र जनचाहनाअनुसारको निर्णय गर्न नसकेको भन्दै सडकमा पटक पटक प्रदर्शन नै गरिएको छ । यतिसम्म कि, वर्तमान सरकार बनेयताका करिब साढे दुई वर्षको समयमा सरकारले जनता, प्रतिपक्षी दलसहित अदालतलाई समेत चित्त बुझाउन सकेको छैन ।

पूर्वप्रधानन्यायाधीश कार्कीले जनताको आवाजबाटै विश्वमा ठूलाठूला परिवर्तन भएको र विश्वको अभ्यास नै त्यस्तै रहेको भन्दै जनताको भावना र आवाजको सम्मान सरकार तथा राज्य पक्षबाट हुनुपर्ने बताइन् ।

‘जनताले देखेको हुन्छ, बुझेको हुन्छ, राज्यलाई यसो गर भन्छ, त्यो विश्वको अभ्यास हो, विश्वमा ठूला ठूला परिवर्तन जनताकै आवाजबाट भएका छन्, सरकारले सुन्नुपर्छ,’ पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन् ।

पछिल्लो पटक चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनशन बसेका डा गोविन्द केसीको मागका विषयमा समेत सरकारले सुने नसुने झैं गर्दै आइरहेको उल्लेख छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्