राजधानी सार्ने प्रस्तावले प्रदेश ५ संसदमा विवाद



बुटवल, असोज २० । प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट दाङ सार्ने प्रदेश सरकारको प्रस्तावमाथि सोमबार संसदमा भएको छलफलमा तनाव उत्पन्न भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को अवरोधबीच संसद् अगाडि बढाउँदा तनाव भएको उल्लेख छ।

सरकारले औचित्यविना बुटवलबाट दाङमा राजधानी सार्न लागेको भन्दै कांग्रेस र जसपाका सांसदले बैठक अवरुद्ध गरे पनि सभामुख पूर्णबहादुर घर्तीले कुनै सुनुवाइ नगरी बैठक अगाडि बढाएका थिए । विरोध र नाराबाजी गर्दै रोस्ट्रममा पुगेका विपक्षी दलका सांसदको आवाजको सुनुवाइ नगर्दै सभामुखले बैठक अगाडि बढाएका थिए ।

पहिलो बैठक सुरु भएको १० मिनेटमै कांग्रेसका सांसदले बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख घर्तीले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । २ बजे बस्ने भनिएको बैठक झन्डै साढे ३ बजे सुरु भएको थियो । बैठक पुनः सुरु भएलगत्तै कांग्रेस र जसपाका सांसदहरू फेरि रोस्ट्रममा पुगेका थिए । विपक्षी दलको नाराबाजीबीच सभामुखले संसद् बैठक अगाडि बढाएपछि कांग्रेस र जनता समाजवादीका सांसदहरूले कुर्सी टेबल फोडेका थिए ।

कांग्रेस सांसदहरू वीरेन्द्र कनौडिया, फकरुद्धिन खान, रमा अर्याल, जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेलगायत आफ्नो आवाजको सुुनुवाइ नभएको भन्दै तोडफोडमा उत्रिएका थिए।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्