चाडपर्वका बेला खाद्यान्न अभाव हुँदैन : मन्त्री भट्ट



धनगढी असोज २० ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभर खाद्यान्न अभाव हुन नदिन सरकार लागिपरेको बताएका छन् ।

प्रेस सङ्गठन नेपाल कैलालीले मंगलवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चाडपर्वका बेला खाद्यान्न अभाव हुने दुर्गम जिल्लामा सरकारले खाद्यान्न अभाव नहुने गरी व्यवस्थापन गरिरहेको बताएका हुन्। देशका दुर्गम जिल्लामा खाद्यान्नको अवस्थाका बारेमा सरकारले जानकारी लिने गरेको बताउँदै उनले वर्षभरि खाद्यान्न अभाव हुन नदिन सरकारले व्यवस्थापनको काम गरिरहेको जानकारी दिए।

मन्त्री भट्टले कोरोनाका बेला पनि देशैभर आपूर्तिको समस्या नभएको उल्लेख गर्दै चाडपर्वका बेलामा हुने कालोबजारी नियन्त्रणका लागि देशभर बजार अनुगमनलाई प्रभावकारी बनाइने बताए। महँगी नियन्त्रणमा समेत सरकार लागिपरेको उनले बताए। मन्त्री भट्टले कोरोना भाइरसका कारण देशको अर्थतन्त्रमा नराम्रो प्रभाव परेको उल्लेख गर्दै त्यसलाई चलायमान बनाउन सरकार अघि बढेको पनि बताए।

देशका विभिन्न जिल्लामा सरकारले घोषणा गरेका विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रको काम सन्तोषजनक भइरहेको उल्लेख गर्दै कैलालीको डुडेझारी र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको सबै काम सकिएर शिलान्यासको चरणमा प्रवेश गरेको जानकारी दिए। दोधरा–चाँदनी सुक्खा बन्दरगाहको काम अघि बढिसकेको उनले जनाए।

प्रतिक्रिया दिनुहोस्