कात्तिक १ गतेदेखि धार्मिक स्थल खुलाउने सरकारको तयारी



ताप्लेजुङ असोज २१ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आउँदो कात्तिक १ गतेदेखि नेपालभरका धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन खुला गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताएका छन् ।

ताप्लेजुङमा भएको कार्यक्रममा मन्त्री भट्टराईले कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेका धार्मिक स्थल खोल्ने प्रस्ताव बिहीबार नै मन्त्रिपरिषदमा पेस गर्ने बताएका हुन् ।

ताप्लेजुङको ओलाङचुङगोलामा बोर्डर आउट पोस्ट बीओपीको उद्घाटन गर्न ताप्लेजुङ पुगेका मन्त्री भट्टराईले प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएमा मात्र धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन खुला हुने बताए ।

मन्त्री भट्टराइले आउँदो कात्तिक १ गतेदेखि विराटनगरबाट समेत पूर्वी पहाडका क्षेत्रहरुमा नेपाल एअरलाइन्सले उडान सुरु गर्ने गरी तयारी गरिरहेको पनि जानकारी दिए । अहिले पूर्वी पहाडका केही जिल्लामा काठमाण्डौबाट मात्रै उडान हुँदै आएको छ । भट्टराईका अनुसार अब काठमाण्डौ–ताप्लेजुङ–काठमाण्डौका साथै विराटनगर–ताप्लेजुङ–विराटनगरको पनि उडान सुरु हुने छ ।

ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र फकताङलुङ गाउँपालिकाको मौवाटारमा बुधवार बीओपी स्थापना भएको छ । यसअघि नै बीओपी स्थापना भइसकेको सङ्खुवासभाको किमाथाङ्कामा भने बीओपीको भवन शिलान्यास हुने कार्यक्रम छ । मौवाटारमा स्थापना हुने बीओपीका लागि त्यहाँ भौतिक संरचना नबनेसम्म अहिले ओलाङचुङगोलामै प्रहरी टोली रहने छ ।

मन्त्री भट्टराईका साथमा गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका प्रमुख गणेशप्रसाद अधिकारीलगायतका व्यक्ति ताप्लेजुङ पुग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्