लुम्बिनी प्रदेशका सभामुखलाई कोरोना संक्रमण



रुपन्देही असोज २३ ।

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण भएको छ।

शुक्रबार नै यसअघि सोहि प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीमा संक्रमण पुष्टि भएको थियो । बिहीबार बेलुकाबाट स्वास्थ्यमा एक्कासी समस्या आएपछि सभामुख घर्तीको शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ।

सभामुख घर्तीलाई अहिले पनि उच्च ज्वरो आइरहेको छ। उनी घरमै आइसोलेसनमा बसेका छन्। यसैबीच सोही प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीलाई पनि कोरोना पोजिटिभ देखिएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको इमरजेन्सी एक्सपर्ट टेस्ट द्रूत स्वाब परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुष्टि गरे।

गत मंगलबार प्रदेशसभा बैठकमा सहभागी भएका सभामुख घर्ती र केसीलाई संक्रमण भएपछि अन्य सहभागीहरुमा पनि संक्रमण हुनसक्ने भन्दै भोलि शनिबार परीक्षण गर्न लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्