निर्मला हत्या प्रकरणमा निलम्बित तीन प्रहरी अधिकारीको निलम्बन फुकुवा



कञचनपुर असोज २९ ।

निर्मला हत्या प्रकरणमा निलम्बित तीन प्रहरी अधिकारी जागिरमा फर्किने बाटो खुलेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट अनुसन्धानका लागि कञ्चनपुर पुगेका प्रहरी नायब उपरीक्षक डीएसपी अंगुर जिसी, कञ्चनपुरमै कार्यरत प्रहरी नायब निरीक्षक सई रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्बन फुकुवा भएको हो ।

योसँगै उनीहरु प्रहरीको नियमित काममा फर्किने बाटो खुलेको छ । गृह मन्त्रालयको कानुन शाखाका सह–सचिव थानेश्वर गौतमका अनुसार डीएसपी जिसीको निलम्बन गृहले फुकुवा गरेको हो भने धामी र साउदको प्रहरी प्रधान कार्यालयले गरेको हो । उनीहरुमाथि लागेको प्रमाण नष्टको मुद्दामा जिल्ला अदालत, कञ्चनपुरले सफाइ दिइसकेको छ ।

यसअघि प्रहरी नियमावलीमा कर्मचारीलाई लागेको मुद्दाको अन्तिम किनारा नलागेसम्म जागिरमा पुनर्वहाली हुन नपाउने व्यवस्था थियो । केही अघि बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई संशोधन गरेर अन्तिम किनारा भन्ने शब्द हटाइएको थियो । त्यससँगै प्रकरणमा मुछिएका प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको हो ।

गृह मन्त्रालयले ३१ भदौ २०७५ मा सीआईबीका तत्कालीन डीएसपी जिसी, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक सई रामसिंह धामीलाई निलम्बन गरेको थियो ।

तत्कालीन ‘सिन अफ क्राइम सोको’ अफिसर प्रहरी नायब निरीक्षक सई हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद पनि निलम्बनमा परेका थिए । उनीहरुमध्ये डीएसपी सेटी, प्रहरी निरीक्षक खड्का र सई धामीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाइसकेका छन् ।

अवकाश पाइसकेकाहरुले निलम्बित भएका वेलाको सेवा, सुविधाका लागि अपिल गर्न सक्नेछन् । बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टको हकमा भने मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

प्रहरी महानिरीक्षक समेतको टोलीले स्थलगत अध्ययन गर्दा कर्मचारीबाट चरम लापरबाही र गैरव्यवसायिक कार्य भएको देखिएको भन्दै विष्ट र भट्टलाई बर्खास्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्