असई मृत्यु प्रकरण: हत्या गरी नदीमा फालेको प्रहरी निष्कर्ष



धनगढी कात्तिक २ ।

नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई गोविन्दबहादुर विकको धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको छ।

असई विकको गर्धन र घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको छ। उनी आइतबार बिहान नेपाल–भारत सीमा हुँदै बग्ने मोहना नदीमा मृत फेला परेका थिए। घटनाको गम्भीर अनुसन्धानको लागि सुदूरपश्चिम प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीसहित निमित्त जिल्ला प्रहरी प्रमुख डीएसपी प्रतीक विष्ट नेतृत्वको टोली घटनास्थलमा छन्।

धनगढीबाट अपराध अनुसन्धानमा सहयोग पुगोस् भनेर ‘ट्रयाकर डग’ लाई पनि घटनास्थल लगेर शव सुँघाइएको डीएसपी विष्टले बताए। घटनास्थल कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १० हो। त्यस क्षेत्र आसपासमा बिहानैदेखि सादा पोशाकका प्रहरीहरू परिचालित छन्।

२८ वर्षीय असई विकको साथमा रहेको पेस्तोल पनि हराएको कैलालीका निमित्त प्रहरी प्रमुख डीएसपी विष्टले बताए। उनका अनुसार असई विकको शव घटनास्थल भन्दा अन्दाजी ३ सय मिटरर फेला परेको हो । घटनास्थलमा रगतका छिटाहरू उछिटिएका छन्। एक जोडी चप्पल पनि भेटिएको छ। हत्यापछि घिसार्दै नदीमा शव फालेको हुन सक्ने ‘क्रिमिनल सीन’ को आधारमा प्रहरीको निष्कर्ष छ।

सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी मुकेशकुमार सिंहले असई विक अस्थायी प्रहरी चौकी जुगेडाका इञ्चार्ज हुन् । जुन धनगढी उपमहानगरपालिका वडा नम्बर–१२ मा पर्दछ। नियमित गस्तीको लागि उनी शनिबार राति साढे ८ बजेतिर हवल्दार रामबहादुर साउँदसँगै निस्केका थिए। जुन उक्त प्रहरी चौकीको ‘एरिया अप्रेशनल रेस्पोन्सीबीलीटी’ क्षेत्र हो।

गस्तीमा निस्केका टोली साढे १० बजेपछि भने सम्पर्कबिहीन भएका थिए। लगत्तै नजिकका प्रहरी चौकीहरूबाट खोजीका लागि प्रहरी परिचालन भएपनि फेला परेका थिएनन्। आइतबार बिहानै जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रहरी कार्यालयबाट खटिएको प्रहरीको संयुक्त टोलीले असई विकलाई मृत अवस्थामा फेला पारेको हो।

शव फेला परेको स्थल र अस्थायी प्रहरी चौकीको अन्दाजी दूरी भने ५ किलोमिटर हो। र, हवल्दार साउँद र असई विक गस्तीमा निस्किँदा सवार बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल चौकीदेखि करिब अढाई किलोमिटरको दूरीमा फेला परेको एसएसपी सिंहले बताए।

हालसम्म हवल्दार साउँदको अवस्था अज्ञात छ। घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटनाको कारणबारे कुनै ‘क्लू’ फेला पार्न सकेको छैन। घटनामा कसको संलग्नता रह्यो भन्ने पनि खुली नसकेको बताइएको छ। घटनाको अनुसन्धानमा संलग्न अनुसन्धान अधिकारीहरूले घटनालाई रहस्यमयी मानेका छन्।

घटनास्थल भारत सीमा क्षेत्र हो। सीमा क्षेत्रमा तस्करहरू सक्रिय छन्। तस्करहरूले नियन्त्रणमा लिएर असई विकको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ। यस्तै, शवलाई नदीबाट निकालिएको छ। शव प्रकृति मुचुल्का तयार गरेर पोस्टमार्टका लागि धनगढी पठाउने तयारी भइरहेको छ। २८ वर्षीय असई विकको घर चाहिँ कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–९ को खगाउँमा छ।

प्रतिक्रिया दिनुहोस्