बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु



बर्दिया कात्तिक ५ ।

बर्दियाको मधुवनमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका ३ की महिलाको बाघको आक्रमणबाट ज्यान गएको हो । मधुवनको भगरैया घर भएकी गंगा खत्रीको पाटे बाघको आक्रमणबाट ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए ।

सम्झना सामुदायिक वन उपभोक्ता समूहको वनमा डालेघाँस काट्ने क्रममा बुधबार साँझ पाटे बाघले उनलाई आक्रमण गरेको थियो । केही दिन अघि पनि मधुवन नगरपालिकाकै माछा मार्न गएका एक किशोरको बाघको आक्रमणबाट ज्यान गएको थियो । साढे एक वर्ष अघिदेखि अहिलेसम्म बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला वन क्षेत्रमा पाटे बाघको आक्रमणबाट सात जनाको ज्यान गएको छ ।

पछिल्लो समय पाटे बाघले घाँस दाउरा लिन जङ्गल गएका स्थानीयलाई आक्रमण गर्नुका साथै गाउँमै पसेर पनि स्थानीयको ज्यान लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्