यस वर्षको दशैंभरि देशभर बत्ती नजाने



काठमाडौं कात्तिक ७ ।

यस वर्षको दशैंभरि देशभर कतै पनि लोडसेडिङ नहुने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बडादशैंमा देशैभर कतै पनि विद्युत सेवा अवरुद्ध नगर्न निर्देशन दिएका हुन् । विद्युत् सेवा थप भरपर्दो र प्रभावकारी बनाउन मन्त्री पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरी, सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग बिहीबार बैठक आयोजना गरी मन्त्री पुनले चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन निर्देशन दिए ।

दशैंका बेला कहीँ पनि विद्युत् काटिने समस्या नआओस् भन्दै मन्त्री पुनले प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टोली रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास व्यक्त गरेका थिए । उनले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न पनि आग्रह गरेका छन् । दशैं सकिएपछि तिहारका लागि पुनः अर्को बैठक बसेर योजना तय गरिने मन्त्री पुनले बताए।

प्रतिक्रिया दिनुहोस्