बडादशैंको आठौं दिन महाष्टमी पर्व मनाइदै



काठमाडाँै कात्तिक ८ ।

बडादशैंको आठौं दिन शनिवार नवदुर्गा भवानीको पूजा आराधना गरी देशभर महाष्टमी पर्व मनाईंदैछ ।

आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दशैंघर अथवा मण्डपमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महाष्टमीको दिन बिशेष भक्तिपूर्वक पूजाआजा गरिन्छ । यो दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइन्छ ।

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रुपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमले बताए ।

आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ । यो दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेष रुपमा सरसफाइ गरी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ ।

पशुबलि नचढाउनेले भने आजपूजा कोठामा काँक्रो, घिरौँला, कुभिन्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् । यसवर्ष भने कोरोनाका कारण शक्तिपिठहरु भने बन्द रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्