क्लिन फिड लागु भएपछि १८० भन्दा बढी च्यानलको प्रसारण बन्द



काठमाडौं कात्तिक ८ ।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मिति शुक्रवार मध्यरातीबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी च्यानल क्लिन फिड विज्ञापनमुक्त भएका छन् । ‘

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्ने व्यवस्था रहेको छ । भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको थियो ।

क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ । अब विज्ञापन बजाएमा विदेशी च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । नेपाल केबल टेलिभिजन महासंघका अनुसार अहिले ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुँदैछन् । प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द भएको छ । टेलिभिजन प्रसारकले प्याकेजमा किन्ने गरेको ९२ च्यानलमध्ये ६० वटा च्यानलले मात्रै अहिले क्लिन फिड च्यानल दिएका छन् ।

कतिपय च्यानलले तयारी गरेपनि पूरा गर्न सकेका छैनन् । ‘जी’को १२ वटा र सोनीको ८ वटा च्यानल क्लिन फिडसहित प्रसारण हुँदैछन् । तर, कार्टुनका च्यानल, बीबीसी अलजजिरा, स्टार्स र कलर्स प्याकेजका च्यानलहरु तत्कालै नेपालमा प्रसारण नहुने भएका छन् । अब फुटबल, क्रिकेटसहित खेलकुदका च्यानलहरु बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्