दशैँको बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिने



काठमाडौं कात्तिक ९ ।

सरकारले दशैँको बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ बिदामा पनि बजार अनुगमन निरन्तर भइरहेको जनाएको छ । दशैँको चहलपहल र किनमेल बढेका बेला मौकाको फाइदा उठाएर व्यापारीले उपभोक्ता ठग्ने भएकाले अनुगमन नरोकिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

विभागले बजार अनुगमन निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा टोली बनाएको उनले बताए । टोलीले जुनसुकै समयमा पनि बजार अनुगमन गरेर अनुचित क्रियाकलाप गर्ने व्यापारीलाई कारबाही गर्नेछ । नियमित रुपमा पाँचरछ वटा टोलीले बजार अनुगमन गर्दै आएको तर आफूहरु ठगिएको उपभोक्ताको गुनासो पनि निरन्तर आइरहेको महानिर्देशक सुवेदीले बताए ।

विभागका अनुसार नियमित तथा विभागमा आएका गुनासाका आधारमा काठमाण्डौ उपत्यकामा विभिन्न ठाउँमा अनुगमन टोली परिचालित भएका छन् । महानिर्देशक सुवेदीले यसअघि देखिने गरी अनुगमनमा जाने गरेकामा दशैँका बेला कर्मचारी नै उपभोक्ताको रुपमा अनुगमनमा निस्कने उनले बताए ।

साथै उनले सचेत तथा जिम्मेवार उपभोक्तालाई कुनै व्यापारीबाट मौका छोपेर कालोबजारी वा अनुचित व्यापारिक क्रियाकलाप भएमा टोल फ्री नम्बर ११३७ मा गुनासो गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्