हुम्लामा एक महिनादेखी टेलिफोन सेवा अवरुद्ध



हुम्ला कात्तिक ९ ।

हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ ।

टेलिफोन अवरुद्ध हुँदा स्थानीय सञ्चारसेवाबाट बञ्चित भएका छन् । दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड गाउँपालिकासहित छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकामा समेत टेलिफोनले काम गर्न छाडेको छ ।

नेपाल टेलिकमले हुम्लाका सातै गाउँपालिकामा आफ्नो सेवा विस्तार गरे पनि सेवा प्रभावकारी नभएको स्थानीयवासीको गुनासो छ । ताँजाकोट गाउँपालिकाको चिहिमा रहेको टावरले कुनै काम नगरेपछि नागरिक सञ्चार सेवाबाट वञ्चित छन् ।

अदानचुली गाउँपालिकाका श्रीनगर र कालिकामा रहेका दुवै टावर गत असोज २० गतेदेखि सञ्चालनमा आउन सकेका छैनन् भने चंखेली गाउँपालिकाको मेल्छाममा भएको टावरले कुनै काम गरेको छैन ।

वर्ड लिंक कम्युनिकेशनले विस्तार गरेको गाउँपालिका र वडा कार्यालयमा रहेको इन्टररनेट सेवाले मात्र केही समस्या समाधान भएको अदानचुली वडा नं २ का धर्मराज बोगटीले बताए ।

अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले आफूले पटकपटक टेलिकम केन्द्रीय कार्यालयमा गएर मर्मतका लागि ताकेता गरेको र धेरै पटक पत्र पठाए पनि मुगु जिल्लाको सोरुकोटमा ठूलो क्षमताको टावर राख्न लागेकाले सानातिना टावरमा नलाग्ने भनी जवाफ दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्