रुखबाट लडेका घाइतेको उपचारमा जुट्यो ३ लाख



म्याग्दी कात्तिक १२ । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३ पीप्लेका एक युवकको उपचारमा करीब रु तीन लाख सहयोग जुटेको छ ।

यही कात्तिक ५ गते रुखबाट खसेका २२ वर्षीय अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको र उपचारमा ठूलो खर्च लाग्ने भएपछि अर्थ संकलन अभियान शुरु गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पीप्ले उपशाखा र सिवाइजी क्लबको अगुवाइमा सञ्चालन भएको सहयोग संकलन अभियानअन्तर्गत मंगलवारसम्म प्राप्त रु २ लाख ९१ हजार ६५५ रिजालको परिवारलाई हस्तान्तरण गरिएको छ ।

अस्पतालमा औषधोपचारमा रकम आवश्यक परेपछि संकलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको र अभियानलाई निरन्तरता दिइएको नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखाका सभापति तारानाथ शर्माले जानकारी दिए ।

संकलित रकम मंगलबार उपचाररत रिजालका बुबा रुद्रलाई वडाध्यक्ष जीवनकुमार मल्ल र उपशाखाका सभापति शर्मा सहितको टोलीले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्