बुधवार पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी
काठमाडौं कात्तिक १२ ।
बडा दशैँको टीकाको तेस्रो दिन। बुधवार पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी रहने छ।
टाढा टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम पूर्णिमाको दिनसम्मै जारी रहन्छ। घटस्थापनाका दिन दसैँघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने क्रम जारी छ।
मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ।
ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक सम्बन्ध हुने विश्वास छ। नेपालको पश्चिमी भेगमा भने विजया दशमीका दिनमात्र टीका लगाउने चलन छ।