वैशाख यता नेपालमा विपद्का घटनामा परि चार सय ६५ जनाको मृत्यु



काठमाडौं कात्तिक १२ ।

गएको वैशाख महिनायता नेपालमा विपद्का विभिन्न घटनामा परि चार सय ६५ जनाको मृत्यु भएको छ ।

गएको वैशाख १ गतेदेखि बुधबारसम्ममा चार सय ६५ जनाको मृत्यु भएको र एक सय एक जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस अवधिमा सबैभन्दा बढी पहिरोमा परि दुई सय ९५ जना, चट्याङ लागेर ६५ जना, बाढीबाट ४२ जना र सर्पको टोकाइबाट २१ जनाको मृत्यु भएको छ ।

यस्तै निरन्तरको झरीबाट १५ जना, जनावरको आक्रमणबाट १४ जना र आगलागीबाट १३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस अवधिमा विपद्सम्बन्धी दुई हजार ७२ वटा घटना भएका थिए ।

ती घटनामा आठ सय १० जना घाइते भएका छन् । दुई हजार तीन सय दुई वटा पशुचौपायको क्षति भएको छ । विपद्का घटनामा ८६ करोड १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्