तिहार नजिकिँदै गर्दा अवैध रुपमा हुने पटाका तस्करी पनि बढ्दो



काठमाडौं कात्तिक १२ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा अवैध रुपमा हुने पटाका तस्करी पनि बढ्दै गएको छ ।

भारतीय सीमावर्ती शहरबाट काठमाडौं आउने यात्रु बसहरुमा पटाका तस्करी गर्ने गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले गत २ दिनमा मात्रै काठमाडौंतर्फ तस्करी गर्न लागिएको झन्डै ३ लाख थान पटाका बरामद गरिएको जनाएको छ । प्रहरीले काठमाडौंतर्फ पटाका तस्करी गर्ने २ जनालाई पक्राउ गरेको छ ।

आइतबार र सोमबार गरी प्रहरीले २ लाख ७४ हजार थान पटाका बरामद गरेको छ । महेन्द्रनगरबाट काठमाडौं आएको ना ७ ख ४५५ नम्बरको यात्रुबाहक बस आइतबार नागढुङ्गा नाकामा चेकजाँच गर्ने क्रममा २ लाख ६६ हजार थान पटाकासहित १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटले जानकारी दिएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुाङ्गाको टोलीले चेकजाँच गर्ने क्रममा बसको सिटमुनि लुकाइएको अवस्थामा १० ओटा बोरामा प्याक गरिएको अवस्थामा २ लाख ६६ हजार थान पटाका बरामद गरेको हो । अवैध रुपमा काठमाडौं भित्र्याउन लागिएका पटाकासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ घर भएका ३० वर्षीय नबिन जोशी छन् ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बसबाट बरामद गरिएको पटाकाको बजार मूल्य १३ लाख ३० हजार रुपैयाँ पर्न आउने प्रहरीको भनाइ छ । यस्तै, सोमबार पनि यात्रु बसमा पटाका तस्करी गर्ने अर्का एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रौतहटको गौरबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७११४ नम्बरको यात्रुबाहक बस सोमबार नागढुङ्गा चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा ८ हजार ५ सय ९२ थान पटाका सहित १ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–६ घर भएका ३२ वर्षीय पिन्टु जैसवाल छन् । उनले दुई ओटा झोलामा लुकाइ छिपाइ अवैध रुपमा पटाका काठमाडौं ल्यान लागेका थिए । प्रहरीले पटाकासहित पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्