कोरोना संक्रमित कर्मचारीले दुई हप्ता बिदा पाउने



काठमाडौं, कार्तिक १४ । कोरोना संक्रमित निजामती कर्मचारीलाई सरकारले १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बिदा दिने तयारी गरिएको हो ।

पछिल्लो समय कर्मचारीमा संक्रमण हुने क्रम बढ्दै गएकाले उपचारको समयमा छुट्टै बिदाको माग हुन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ ।

निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउँछन् । तर, कोरोना संक्रमण भएको वेलालाई त्यो बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिने तयारी भएको मन्त्रालयले जनाएको छ । ‘कोरोना संक्रमित कर्मचारीलाई बिदा दिनेबारे गृह र स्वास्थ्य मन्त्रालयसँग छलफल चलिरहेको छ,’ संघीय मामिला मन्त्रालयका सहसचिव वसन्त अधिकारीले भने, ‘यससम्बन्धी प्रस्ताव हाम्रो मन्त्रालयले अघि बढाउने कि गृह मन्त्रालयले भन्ने टुंगो लागिसकेको छैन ।’

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले यसबारे छलफल भएको र कर्मचारीसँग सम्बन्धित विषय भएकाले संघीय मामिला मन्त्रालयले नै प्रस्ताव मन्त्रिपरिषद् लैजान उचित हुने राय दिइएको बताए ।

यसअघि लकडाउनको अवधिमा कर्मचारीलाई सार्वजनिक बिदाको सुविधा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्