विश्वरूप मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले दियो स्वीकृति



काठमाडौं कात्तिक १४ ।

पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ ।

डिजाइन स्वीकृत भएसंगै भूकम्पपछि पाँच वर्षसम्म पुनर्निर्माणको काम सुरु हुन नसकेको विश्वरूप मन्दिर पुनर्निर्माण गर्न बाटो खुलेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ ।

पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण विश्वरूप मन्दिरको पुनर्निर्माणको काम सुरु हुन सकेको थिएन । पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनर्निर्माणको काम सुरु गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

मन्दिरसहित वरिपरिको सत्तल पुनर्निर्माणका लागि ७० करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए । बहुवर्षीय योजना अन्तर्गत आर्थिक वर्ष २०७८र२०७९ सम्ममा मन्दिर क्षेत्रको पुनर्निर्माण सक्ने लक्ष्य छ । पुनर्निर्माणका लागि ठेक्काको प्रक्रिया सुरु भइसकेको कोषका निर्देशक भरत मरासिनीले बताए ।

यो महिना भित्रै ठेक्का गर्न लागिएको पनि उनले जानकारी दिए। विभागबाट स्वीकृति प्राप्त भए पनि लागत पूर्वानुमानको समीक्षा हुने कोषले जनाएको छ । विश्वरूप मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको समान आस्थाको केन्द्रका रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्