काठमाडौं उपत्यकामा पुरानै भाडादर कायम , बढी लिए ५ हजार जरिवाना



काठमाडौं कात्तिक १५ ।

काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडिको भाडादर कायम गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ ।

बढी भाडा लिने चालकलाई पाँच हजार रूपैयाँसम्म जरिवाना गर्न लिने थालेको छ। बन्दाबन्दीको बेला सरकारले सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु बोक्न दिँदा भाडा भने ठीक ५० प्रतिशत बढाउन लगाएको थियो ।

साउन २५ गते यता भने बन्दाबन्दी छैन। सार्वजनिक सवारी साधनहरूले सिट क्षमता अनुसार यात्रु बोक्न पाउने अवस्था छ। तर, भाडा भने बन्दाबन्दीको बेलामा जसरी ५० प्रतिशत बढी लिने गरेको गुनासोको आधारमा चेकिङलाई तीव्रता दिँदै हरेक सार्वजनिक सवारीमा पुरानो भाडादर राख्न लगाउने र बढी भाडा लिनेलाई कारबाही थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले बताए।

उनले अब यात्रुवाहक हरेक सवारीसाधनमा चालकले भाडादरको विवरण अनिवार्य राख्नुपर्ने बताए। नराखिए कारबाही गरिने उनको चेतावनी छ । यसअघि शुक्रबारमात्रै बढी भाडा लिने र भाडादर नटाँस्ने ४२९ वटा सवारीसाधनलाई कारबाही गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्