चुरोट सल्काउँदा आगलागि, ४ जना घाइते



पोखरा कात्तिक १५ ।

चुरोट सल्काउँदा आगो लागेर पोखराको पुरन्चौरमा शनिबार ४ जना घाइते भएका छन्।

पोखरा महानगर १९ पुरनचौरमा सीता गौतमको १ तले घरमा आगो लागेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ। उक्त घरमा डेरा गरी बस्ने गोरखाका शेरबहादुर गुरुङले चुरोट सल्काउने क्रममा ग्यास लिक भइरहेको कारण आगलागी भएको प्रहरीले जनाएको छ।

पहिलादेखि नै ग्याँस लिक भएको तर थाहा नपाएर लाइटर बाल्दा कोठामा आगोले टिपेको हो। घटनामा ५४ वर्षे शेरबहादुर गुरुङ, उनकी पत्नी ५४ वर्षे देउकुमारी, देउबहादुरका भाइ ३७ वर्षे मनबहादुर र छोरा १५ वर्षे कृष्ण गुरुङ जलेर घाइते भएका छन्। गण्डकी मेडिकल कलेजमा उपचार भइरहेका उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यसैगरी शनिबार बिहान कुँडो पकाउने क्रममा स्याङ्जा अर्जुनचौपारी गाउँपालिका ५ काउरेमा राजेन्द्रप्रसाद चापागाईंको धन्सार जलेको छ। धन्सारमा रहेको लत्ताकपडा, नगद १ लाख ५० हजार, ३र४ तोला सुन जलि नष्ट भएको प्रहरीले जनाएको छ। घटनामा २ वटा भैंसी पनि जलेर घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्