बोक्सीको आरोपमा आमाको हत्या



सिरहा, कार्तिक १७ । ८५ वर्षीया सुदामादेवी साह छिमेकीको घरमा गफिँदै थिइन्। कान्छो छोरो रामअवतारले बुहारी मनीषाको खुट्टाको घाउ झारफुक गर्न बोलाए। सुदामादेवीले आफूलाई बोक्सी आरोप लगाउने छोराको घरमा नजाने तर आफ्नो घरमा आए झारफुक गरिदिने अड्डी कसिन्।

‘तिमीले बोक्सी लगाएको हो, त्यही भएर बुहारी बिरामी परेको छ, तिमीले छुटाउनुपर्छ भन्दै थिए रामअवतार’, एक स्थानीयले भने, ‘आफ्नो घरमा बुहारी ल्याउनु अनि झारफुक गर्छु भन्दै सुदामादेवीले जवाफ दिइन्।’ त्यससँगै रिसाएका रामअवतारले घाँटी थिचेर कुटपिट गर्दा ती वृद्धा गम्भीर घाइते भइन्। यो घटना यही कात्तिक ११ गते कर्जन्हा नगरपालिका ३ खैराहा टोलमा भएको थियो।

स्थानीयले घाइतेलाई नजिकै अस्पताल पुर्याए। थप उपचारका लागि जनकपुरस्थित जानकी मेडिकलमा लगे। तर, उपचार खर्च अभावका कारण घाइतेलाई फर्काएर जिल्ला अस्पताल सिरहामा ल्याइयो। उपचारकै क्रममा शनिबार सुदामादेवीको मृत्यु भएको छ। जेठो छोरो रामबहादुरले आइतबार आमाको दाहसंस्कार गरेका छन्।

जिल्ला प्रहरी प्रवक्ता शालिग्राम शर्मा पौडेलले अभियुक्त रामअवतारलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए। रामअवतारविरुद्ध कर्तव्य ज्यान र बोक्सीको आरोपसम्बन्धी मुद्दा चलाइएको छ।

विगतमा सुदामालाई कान्छो छोरोले मलमूत्र खुवाउने प्रयास गरेको, पटक–पटक कुटपिट गरेको स्थानीयको भनाइ रहेको छ।

यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्