कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव चार महिनापछि उत्खनन् गरी दाहसंस्कार



अर्घाखाँची कात्तिक १८ ।

अर्घाखाँचीमा कोरोना संक्रमणका कारण मृत्यु भएका एक व्यक्तिको शव साढे चार महिनापछि उत्खनन् गरी दाहसंस्कार गरिएको छ ।

मालारानी गाउँपालिका–४ का ५७ वर्षीय यमप्रसाद खनालको शव उत्खनन् गरी दाहसंस्कार गरिएको हो । उनि ‘क्वारेन्टिन’मा बसेको बेला स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो । स्वाब पठाएको केही दिनमा स्वास्थ्यमा समस्या आएपछि उनि उपचारका लागि बुटवल गएका थिए ।

उपचारपछि घर फर्कनेक्रममा गएको जेठ २८ गते बाटोमै उनको मृत्यु भएको थियो। तर, उनको मृत्यु भइसक्दा पनि ‘पीसीआर’ परीक्षणका लागि पठाइएको स्वाबको नतिजा आएको थिएन । उक्त रिपोर्ट प्रयोगशालाकै लापरबाहीले प्रयोगशालाभित्रै हराएको थियो ।

प्रयोगशालामा पठाएको नमुना हराएपछि पुनः मृत शरीरबाट स्वाब निकालेर पीसीआर परीक्षणका लागि भैरहवा पठाइएको थियो । रिपोर्टमा कोरोना ‘पोजिटिभ’ आएपछि मालारानी–४ स्थित चौरमा शवलाई दुई दिनसम्म खुला आकाशमा राख्न परिवारका सदस्य बाध्य भएका थिए । शव व्यवस्थापनमा विवाद भएको थियो । विवादपछि चौर आसपास खाल्टो खनेर शव गाडिएको थियो ।

त्यसबेला परिवारले चाहेको स्थानमा शव व्यवस्थापन र परम्पराअनुसार काजकिरिया गर्न नपाएको आफन्तले बताएका छन् । अहिले चार महिनापछि शव उत्खनन् गरेर परम्पराअनुसार अन्त्येष्टि गरिएको परिवारका सदस्य प्रकाश खनालले जानकारी दिए।

यता, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले सरकारको पछिल्लो नीतिअनुसार शव उत्खनन् गर्न गाउँपालिकाले अनुमति दिएको बताए। उनका अनुसार चार दिनअघि उत्खनन् गरी शवको दाहसंस्कार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्