पञ्‍चकन्या गाउँपालिकाका ४ कर्मचारीसहित नुवाकोटमा एकैदिन ६० जनामा कोरोना



नुवाकोट कात्तिक १८ । पञ्‍चकन्या गाउँपालिकाका ४ कर्मचारीसहित नुवाकोटमा एकैदिन ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालका अनुसार मंगलबार विदुर नगरपालिकाभित्र ५१ संक्रमित पुष्टि भएका छन् । त्यसैगरी पञ्चकन्या गाउँपालिकामा ५, लिखुमा २, तादी र ककनी गाउँपालिकामा १/१ जना संक्रमित पुष्टि भएका छन् ।

पञ्‍चकन्या गाउँपालिकाका लेखा प्रमुख, लेखा सहायक, इन्जिनियर शाखाका कर्मचारी र गाउँपालिका अध्यक्षका चालकलाई कोरोना पुष्टि भएको पञ्चकन्या गाउँपालिका स्वास्थ्य संयोजक हेमनारायण महतोले जानकारी दिए । उनका अनुसार दसैं बिदामा घर गएर फर्किएका लेखा प्रमुखसहितका कर्मचारीहरुमा कोरोना आशंकामा पीसीआर परीक्षण गर्दा मंगलबार गाउँपालिकाका ४ कर्मचारीमा पोजिटिभ देखिएको हो ।

जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ७३ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ४७ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६० जना संक्रमित भएपछि जिल्लामा अहिलेसम्मकै कोरोनाको संख्यामा अत्याधिक बृद्धि भएको कार्यालयले जनाएको छ ।

जिल्लामा २ पुरुष र १ महिलाको मृत्यु भएको छ । निको भएर घर फर्कनेको संख्या २ सय २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्