नुवाकोट पञ्‍चकन्यामा बिहीबारदेखि सबै विद्यालयहरु अनिश्‍चितकालका लागि बन्द



घलेभन्ज्याङ, नुवाकोट कात्तिक १९ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकामा बिहीबारदेखि सबै विद्यालयहरु अनिश्‍चितकालका लागि बन्द गरिने भएको छ ।

कोरोना भाइरस संक्रमण बढेको भन्दै शिक्षा युवा तथा खेलकुद शाखाले बुधबार एक सूचना प्रकाशित गर्दै गाउँपालिका अन्तर्गत सञ्‍चालित सम्पूर्ण सामुदायिक विद्यालयहरु अर्को सूचना प्राप्त नभएसम्मका लागि बन्द गर्न अनुरोध गरेको हो । पञ्‍चकन्यामा मंगलबार गाउँपालिकाका ४ कर्मचारीसहित ५ जनामा कोरोना पोजिटिभ देखिएपछि असोज ६ देखि सञ्‍चालित विद्यालयहरु बन्द गराउने निर्णय गरिएको हो ।

भदौ ३१ गते बसेको पञ्चकन्या गाउँपालिका, गाउँ शिक्षा समिति, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको बैठकले पहिलो चरणमा १७ वटा विद्यालयहरु सञ्‍चालनको लागि अनुमति दिएको थियो । तर जिल्ला प्रशासन कार्यालय नुवाकोटले भने कोरोना संक्रमण जोखिम अझै कायम रहेको भन्दै विद्यालय सञ्‍चालन नगर्न निर्देशन दिएको थियो ।

हेरौं गाउँपालिकाको सूचना

“यस पञ्चकन्या गाउँपालिकामा कोरोना अर्थात कोभिड- १९ को प्रभाव बढेको पाइएकोले यस गाउँपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरू अर्को सूचना प्राप्त नभएसम्म को लागी भोलि मिति -२०७७-०७-२० देखी वन्द गर्न हुन अनुरोध छ ।”

पञ्चकन्या गा.पा.
शिक्षा युवा तथा खेलकुद शाखा

प्रतिक्रिया दिनुहोस्