कालीगण्डकी करिडोरको पहिरोमा परी पाँच जनाको मृत्यु



काठमाडौं,कात्तिक २०। कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरो खस्दा पाँच जनाको पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए।सडक निर्माणमा कार्यरत कामदार विहिबार साँझ पहिरोमा पुरिएका थिए ।

मृत्यु हुनेमा सबै बुलिङटार –४का २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ। पहिरोमा पुरिएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहायतामा निकालिएको थियो।

पहिरोमा परी दुई जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा एक्काइस वर्षीय कृष्ण लुङ्गेली र १९ वर्षीय केवल सिंह लुङ्गेली मगर रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्