भारत लैजाँदै गरिएका तीन किशोरीको उद्धार



धनगढी कात्तिक २० ।

भारत लगेर बेच्न खोजिएका तीन जना किशोरीको प्रहरीले कैलालीबाट उद्धार गरेको छ।

धनगढी उपमहानगरपालिका–४ स्थित बडिकेदार होटलबाट सर्लाहीका १७ र १८ वर्षका र सिन्धुलीका १९ वर्षका किशोरीको जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले बुधबार राति उद्धार गरेको हो। प्रहरीको टोलीले बेचबिखनका लागि लैजान लागिएको भन्ने सूचनाका आधारमा होटलमा छापा हानेको थियो । घटनाको अनुसन्धानका लागि होटलका साहु टेकेन्द्र बडैला र एक महिलासहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयले नेपालबाट बालिकाहरूलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी लैजान लागेको देखिएपछि बालिकाको उद्धार गरी शान्ति पुनःस्थापना गृहमा राखिएको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले नेपाल–भारतका ‘दलाल’हरूले बालिकालाई विक्री गर्न लैजाँदै गरेको खुलेको बताए। पक्राउ गरिएका चारै जनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्