अमेरिका निर्वाचन अपडेट : प्रमुख राज्यहरुमा बाइडेन अगाडी



एजेन्सी कात्तिक २० ।

अमेरिकी निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन जित नजिक पुगेको धेरै विश्लेषकहरुले व्याख्या गर्न थालेका छन् ।

निर्णायक मानिएका राज्यकको मतगणना हुन थालेपछि अब कसले जित्छ भन्ने यकिन गर्न सजिलो भएको पनि बताइएको छ । जस अनुसार बाइडेनले जित्नसक्ने आंकलन गर्न थालिएको हो । यद्यपि जर्जिया, एरिजोना र पेन्सिल्भेनिया जस्ता राज्यको मतगणना थप महत्वपूर्ण मानिएको छ । ती राज्यको मतगणना अझै सकिएको छैन । अमेरिकी मिडियाका अनुसार बिहीबार अवेरसम्म नयाँ अपडेट आउनसक्नेछ ।

यस क्रममा बाइडेनले आत्मविश्वासका साथ आफूहरु विजयको बाटोमा रहेको बताउँदै आएका छन् । हालै उनले गरेको सम्बोधनमा यस पटकको निर्वाचन अघिल्ला कुनै पनि भन्दा फरक र ऐतिहासिक रहेको बताए । साथै धेरै मतदान भएकाले र महामारी बीचमा भएकाले पनि यो चुनाव फरक भएको उनले बताएका थिए । साथै आफूहरु जित नजिक रहेको उनको प्रतिक्रिया थियो ।

बाइडेनका प्रतिस्पर्धी ट्रम्पले भने केही राज्यमा मतपरिणामबाट चित्त नबुझेर मुद्दा नै दायर गरेका छन् । उनले मतगणना फेरि हुनुपर्ने र केही राज्यको मतगणना रोक्नुपर्ने बताए । बुधबार मात्रै उनले धाँधली भएकाले मतगणना रोक्नुपर्ने र आफूहरु अदालत जाने चेतावनी दिएका थिए ।

आफूहरुले गलभग जितिसकेको चुनावमा धाँधली गरिएको आरोप उनले लगाएका हुन् । तर कसरी धाँधली भएको र कहाँ भनेर उनले ठोस प्रमाण पेश गर्न सकेका छैनन् । बाइडेनले महत्वपूर्ण मानिएका राज्य मिसिगन र विस्कन्सिनमा जितिसकेका छन् । साथै नभाडामा पनि बाइडेन नै अगाडि छन् । जुन राज्यको घोषणा हुन अन्तिम चरणमा पुगेको बताइएको छ ।

जर्जियामा भने बुधबार दिनभरको गणना अनुसार झिनो अन्तरले ट्रम्प अगाडि छन् । यस्तै एरिजोनामा पनि कडा प्रतिस्पर्धा भएको छ । एरिजोनाको सबैभन्दा ठूलो मतदाता भएको क्षेत्र मारिकोपामा भने बाइडेन अगाडि देखिए । हालसम्म बाइडेनले २ सय ५३ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २ सय १३ मत पाएका छन् ।

कुनै पनि उम्मेदवारलाई राष्ट्रपति बन्न कम्तिमा २ सय ७० इलेक्टोरल भोटको आवस्यकता पर्छ । राजधानी वासिंटन लगायत कतिपय सहरमा भने विशाल जनप्रदर्शन भइरहेका छन् । ट्रम्पविरोधी प्रदर्शन कतिपय स्थानमा भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्