नुवाकोटमा गरगहना लुट्ने १२ वर्षको लागि जेल चलान



नुवाकोट कात्तिक २५ ।

बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् ।

अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार चलान भएका हुन् ।

तामाङले २०७३ साल भदौ २७ गते साँझ नुवाकोटको लिखु गाउँपालिका–३ सूर्यमतीका निर्मला राईको नगद १ लाख र उनले लगाएको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको गरगहना चोरी गरेको अभियोगमा जिल्ला अदालत नुवाकोटले दोषी ठहर गरेको थियो ।

जिल्ला अदालतले २०७३ साल फागुन ३ गते सुनाएको फैसलाअनुसार तामाङलाई ‘रहजनी चोरी’ मुद्दामा दोषी ठहर गर्दै १२ वर्ष दुई महिना जेल र १ लाख २२ हजार १६० जरिवाना तोकिएको थियो । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका उनलाई विशेष सुराकीको आधारमा नुवाकोट प्रहरीले काठमाडौंबाट पक्राउ गरेर फैसला कार्यान्वयनको लागि सोमबार नुवाकोट जिल्ला अदालतमा बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्