पुल नबन्दा तुइनबाट तरकारी बजार पुर्‍याउँदै रसुवाका किसान



रसुवा,कात्तिक १२ — गत भदौ १० गते आएको विनाशकारी भोटेकोसी बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ र स्याफ्रुबेँसी जोड्ने मोटरेबल पुल बगाएपछि स्थानीय किसान समस्यामा परेका छन्। पुल पुनःनिर्माण नहुँदा आमाछोदिङ्मो गाउँपालिकाका किसान आफ्नो मुख्य बाली बन्दाकोबी जोखिमपूर्ण तरिकाले तुइनबाट तारेर काठमाडौंलगायतका बजारमा पुर्‍याउन बाध्य भएका छन्।

बाढीले यातायात सम्पर्क विच्छेद गरेपछि किसानले उत्पादन गरेको तरकारी समयमै बजार पुर्‍याउन कठिन भएको छ। वैकल्पिक मार्ग र पुलको अभावमा खेतबारीमा फलेको बन्दाकोबी तुइनबाट नदी पार गराउनुपर्ने बाध्यता रहेको किसान बताउँछन्। समयमै बजार पुर्‍याउन नसक्दा तरकारी खेतमै कुहिने र उचित मूल्य नपाउने समस्या बढेको छ।

“बारीमा फलेको बन्दा समयमै बजार नपुर्‍याए कुहिएर जाने चिन्ता छ। पुल नबन्दा तुइनबाटै भए पनि सामान तारेर गाडीसम्म पुर्‍याउनुपरेको छ,” एक स्थानीय किसानले दुखेसो पोखे।

तुइनबाट कृषि उपज ढुवानी गर्दा किसानले अतिरिक्त श्रम र महँगो ढुवानी खर्चसमेत व्यहोर्नुपरेको छ। पुल पुनःनिर्माणमा ढिलाइ हुँदा किसानको उत्पादन बजारसम्म पुर्‍याउने काम जोखिमपूर्ण बनेको छ भने उनीहरूको आम्दानीमा समेत असर परेको छ।

प्रतिक्रिया दिनुहोस्