चक्रवातको जोखिमले किसानलाई धान थन्क्याउने चटारो



लमजुङ,कात्तिक १२ — बङ्गालको खाडीमा विकसित शक्तिशाली ‘अर्णव’ चक्रवातको प्रभावले वर्षा हुन सक्ने पूर्वानुमानपछि लमजुङका किसानलाई पाकेको धान भित्र्याउने चटारो परेको छ। मौसम पूर्वानुमान महाशाखाले भारी वर्षा र हिमपात हुन सक्ने जनाएको छ। सम्भावित वर्षाबाट पाकेको धान जोगाउन किसान खेतबारीमा व्यस्त भएका छन्।

लमजुङका टारी फाँटमा लगाइएका वर्णशङ्कर र उन्नत जातका धान पाकेर पहेँलपुर भएका छन्। वर्षा हुनुअघि नै धान काटेर थन्क्याउन किसानलाई भ्याइनभ्याइ छ। मध्यनेपाल, दोर्दी, राइनास, मर्स्याङ्दी र सुन्दरबजारका विभिन्न क्षेत्रमा किसान धान काट्ने र भित्र्याउने काममा जुटेका छन्।

कृषि विकास कार्यालय लमजुङका कृषि विज्ञ मदन रेग्मीका अनुसार रैथाने जातका धान पाक्न मङ्सिरसम्म कुर्नुपर्ने भए पनि उन्नत र वर्णशङ्कर जातका धान छिट्टै पाक्ने गरेका छन्। वर्षाको जोखिमलाई ध्यानमा राख्दै बिहीबारसम्म काटिसकेको धान थन्क्याउन तथा शुक्रबार र शनिबार धान नकाट्न किसानलाई सुझाव दिइएको उहाँले बताउनुभयो।

मौसममा आएको परिवर्तन र वर्षाको सम्भावनाले किसानलाई चिन्तित बनाएको छ। मध्यनेपाल नगरपालिका–६, भोर्लेटार रामपानीका किसान राम गुरुङले पाकेर भित्र्याउने बेलामा रहेको धान वर्षाले बिगार्ने हो कि भन्ने चिन्ता रहेको बताउनुभयो। “खेत रोप्नै गाह्रो। रोपेपछि फलेको फसल भित्र्याउन उस्तै गाह्रो,” उहाँले भन्नुभयो।

कृषि विकास कार्यालयका अनुसार लमजुङमा १६ हजार ४६३ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। त्यसमध्ये १५ हजार ५५२ हेक्टरमा बर्खे धानखेती हुन्छ। जिल्लाको ९० प्रतिशतभन्दा बढी क्षेत्रफलमा उन्नत जातका धान लगाइने गरिएको छ।

लमजुङमा रामधान, सावित्री, लोकतन्त्र, हर्दिनाथ, सुनौलो सुगन्ध, खुमल–४ तथा सुक्खा–१, २, ३ र ४ जातका धानखेती गरिन्छ। त्यस्तै, वर्णशङ्कर जातमा यूएस ३१२, शङ्कर, गोरखनाथ, चाँदनी र पृथ्वी तथा स्थानीय जातमा एक्ले, मन्सरा, मधेसे, अनादी र आँगा धान लगाउने गरिएको कृषि विकास कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्