ढुंगा प्रहार गरी साथीको हत्या गरेको आरोपमा एक युवक पक्राउ



कास्की कात्तिक २६ ।

ढुंगाले टाउकोमा प्रहार गरी साथीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

दाङ घोराही घर भई कवाडी संकलन गर्ने २५ वर्षीय सहकर्मी कृष्ण चौधरीको हत्या गरी फरार सिन्धुली सुनकोशी गाउँपालिका–१ निवासी २३ वर्षीय नन्दलाल श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित वसुन्धरा पार्कमा कात्तिक २२ गते हत्या गरी फरार रहेका श्रेष्ठलाई तनहुँ आबुखैरेनीबाट पक्राउ गरिएको हो ।

कवाडी संकलन गरी बिक्री गर्ने चौधरी र श्रेष्ठबीच रक्सीको नसामा चुरोटको विषयलाई लिएर सामान्य भनाभन हुँदा रिसको आवेगमा श्रेष्ठले चौधरीको टाउकोमा तीन पटकसम्म ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत चौधरीको कात्तिक २२ गते नै मृत्यु भएको प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्