नुवाकोटमा कोरोना संक्रमितको संख्या ६८३ पुग्यो



नुवाकोट,कात्तिक २७ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ सय ८३ पुगेको छ। बुधबार थप ३६ जनामा संक्रमण पुष्टि भएसँगै कुल सङ्क्रमित संख्या ६ सय ८३ पुगेको हो । कुल सङ्क्रमित मध्ये २०१ जना महिला र ४८२ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेका अनुसार बुधबारको पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ३१, सुर्यगढी गाउँपालिकाका २ शिवपुरीका १, पञ्चकन्याका १ र किस्पाङका १ जना सङ्क्रमित थपिएका छन् ।

बुधबार थपिएका संक्रमितमध्ये विदुर नगरपालिकाका १२ महिला र १९ पुरुष रहेका छन्। सुर्यगढी गाउँपालिकाका २ पुरुष रहेका छन्। यस्तै, शिवपुरी, पञ्चकन्या र किस्पाङ गाउँपालिकाका १/१ पुरुष रहका छन्। संक्रमित बिरामीहरु सबै जना होम आईसोलेसनमा रहेका छन्।

बुधबारमात्र ७ महिला र १३ पुरुष गरि २० जना सङ्क्रमित कोरोनामुक्त भई घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जनाए । हाल जिल्लामा त्रिशुली अस्पतालमा ६ जना, शिवपुरी आइसोलेसनमा १ जना र होम आईसोलेसनमा ३५५ जना गरि ३६२ जना उपचारत रहेका छन्। जिल्लामा कुल पिसिआर परिक्षण संख्या भने ६ हजार ९८४ जना रहेको छ ।

नुवाकोटमा पछिल्लो दिनयता कोरोना संक्रमितको संख्या दिनानु दिन वृद्धि भएपछि बुधबारबाट प्रशासनले जिल्लाभर निषेधाज्ञा लागु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्