[अपडेट] बैतडी बस दुर्घटना : ७ जनाको सनाखत



काठमाडौं कात्तिक २८ । बैतडीमा बिहीबार राति बस दुर्घटनामा परी मृत्यु भएका ९ मध्ये ७ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये सनाखत हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ६ का रणबहादुर चन्द, सोही ठाउँका करणसिंह ऐरी र कविन्द्र जोशी रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिका ७ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १० बस्ने विजना धामी, दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, दार्चुलाकै तर्कराज गिरी र कञ्चनपुरको भीमदत्त नगरपालिका ८ की किर्तीका कार्कीको पनि सनाखत भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ७ जना पुरुष र २ जना छन् ।

ऐरको शव बसले च्यापिएकाले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । अन्य पाँच मृतकको पहिचान हुन सकेको छैन । उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

शरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा भएको दुर्घटनामा घाइते भएका ३४ मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्