विस्थापित बालबालिकाको पढाइ नरोकिने सरकारको प्रतिबद्धता, राष्ट्रियसभामा सामाजिक सद्भावबारे पनि चासो



काठमाडौँ,साउन १५ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकाका सुकुम्वासी बस्तीबाट विस्थापित भएका बालबालिकाको पठनपाठन कुनै पनि अवस्थामा प्रभावित हुन नदिने सरकारको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विस्थापित विद्यार्थीहरूलाई नजिकका विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

उहाँका अनुसार बालाजुस्थित बुद्ध ज्योति बाल उद्यान आधारभूत विद्यालयका ११६ जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालयमा तथा बालकल्याण माध्यमिक विद्यालयका १५४ जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय, पकनाजोलमा भर्ना गरिएको छ।

यस्तै, कीर्तिपुरको राधा स्वामी सत्सङ्ग केन्द्रमा रहेका १० जना बालबालिकालाई आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरिएको तथा खरिपाटी, बोडे र इचङ्गु होल्डिङ सेन्टरमा रहेका ५९ जना बालबालिकालाई उनीहरूले रोजेका विद्यालयमा भर्ना गराइएको मन्त्री पोखरेलले बताउनुभयो।

विस्थापित बालबालिकालाई विद्यालय आउजाउका लागि सवारी सुविधा, खाजा, टिफिन बक्स, विद्यालय पोसाक, झोला, स्टेशनरी, पानीको बोतल र सरसफाइका सामग्रीसमेत उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो।

अर्को प्रश्नको उत्तर दिँदै मन्त्री पोखरेलले विश्वविद्यालय तथा शैक्षिक संस्थामा सुशासन र योग्यतामा आधारित पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढिरहेको बताउनुभयो। उच्च शिक्षाको शैक्षिक वातावरण सुधारका लागि वार्षिक शैक्षिक कार्यतालिका कार्यान्वयन गर्न निर्देशन दिइएको र आगामी दिनमा भर्ना, परीक्षा तथा नतिजा प्रकाशनजस्ता कार्य तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।

यसअघि राष्ट्रियसभाको बैठकमा सांसदहरूले सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशमा देखिएको सामाजिक तनावप्रति सरकारको ध्यानाकर्षण गराउँदै सामाजिक सद्भाव कायम राख्न प्रभावकारी पहल गर्न आग्रह गरेका थिए। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, घाइतेको उपचार, मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा सबै पक्षसँग संवाद बढाएर यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।

राष्ट्रियसभाको अर्को बैठक साउन १८ गते सोमबार दिउँसो १ः१५ बजे बस्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्