आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जना गम्भीर घाइते



काभ्रे,साउन १५ । मण्डनदेउपुर नगरपालिका–१ गैरीगाउँमा आफैँले बोकेको भरुवा बन्दुक अचानक पड्किँदा एक जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय ४६ वर्षीय थामी तामाङ रहेका छन्। तामाङ घरदेखि करिब दुई किलोमिटर पश्चिमतर्फ रहेको खेतमा जंगली बँदेलले मकैबाली नष्ट गरेपछि बँदेल मार्ने उद्देश्यले भरुवा बन्दुक बोकेर गएका थिए।

सोही क्रममा उनले बोकेको बन्दुक अचानक पड्किँदा तामाङको दाहिने कोखा र पिठ्युँमा चोट लागेको प्रहरीले जनाएको छ। गम्भीर घाइते तामाङलाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल ल्याइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्