छहरे-टोखा सडकखण्डमा सवारी साधनको चाप, स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हेलचेक्र्याइँ



नुवाकोट, कात्तिक ३०। नुवाकोट-काठमाडौं आवातजावतको छोटो दुरीको मार्ग छहरे-टोखा खण्डमा सवारी साधनको अत्यधिक चाप बढेको छ ।

कोरोनाको कहरबीच तिहार पर्वको अवसरमा ओहोरदोहोर गर्ने यात्रुको संख्या वृद्धिसँगै आइतबार छहरे-टोखा सडक खण्डमा यातायातका साधनको ताँती देखिएको हो । प्रहरीले आइतबार नुवाकोट प्रवेश गर्ने सवारी साधनको संख्या ह्वात्तै बढेको बतायो ।

नुवाकोट शिवपुरी गाउँपालिकामा पर्ने गुर्जे प्रहरी पोस्टका असई कृष्ण गुरुङका अनुसार तिहार पर्वका लागि नुवाकोट प्रवेश गर्ने सवारी साधनको ‘फ्लो’ ह्वात्तै वृद्धि भएको हो । उनका अनुसार दसैंका समयमा भन्दा एकैदिन धेरै यात्रु नुवाकोट प्रवेश गरेका छन् ।

उनले आइतबार दिउँसो मात्र ८८ वटा सार्वजनिक सवारी साधन नुवाकोट भित्रिएका छन् भने १६ वटा बाहिरिएका छन् ।

बालाजु-रानीपौवा, गल्छी-कोल्पुटार-त्रिशूली र टोखा-झोर-छहरेसहित नुवाकोट आउजाउ गर्ने नाका नै सञ्‍चालनमा रहे पनि छहरे-टोखा हुँदै प्रवेश संख्या तुलनात्मक रुपमा अत्यधिक हो । त्यस्तै आइतबार नै ४९ वटा निजी सवारीसाधन नुवाकोट प्रवेश गरेका छन् भने झण्डै ३ सयको हाराहारीमा दुई पाङ्ग्रे सवारी साधन नुवाकोट प्रवेश गरेको असई गुरुङले बताए ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हेलचेक्र्याइँ

कोरोना भाइरस संक्रमण तीव्ररुपमा फैलिरहेको बेला सार्वजनिक तथा निजी सवारी साधन र यात्रुले स्वास्थ्य सुरक्षाका उपाय अपनाउनमा हेलचेक्र्याइँ गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोट र स्थानीय सरकारले सवारी साधन सञ्‍चालनका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पालनामा दुवै पक्षको बेवास्ता देखिएको हो ।

सार्वजनिक तथा निजी सवारी साधनमा सेनिटाइजर तथा सिट व्यवस्थापनको समेत अभाव पाइएको गुर्जे ग्रामीण सामुदायिक स्वास्थ्य कार्यालयका ईन्चार्ज अहेव कल्याणभक्त पाण्डेले बताए । उनले कोरोनाको संवेदनशीलतालाई ख्यालख्याल सोच्ने प्रवृत्तिले आगामी दिनमा कोरोनाले भयावह स्थिति आउन सक्ने चेतावनी दिए । उनले कतिपय यात्रुसमेत बिनामास्क निर्वाध यात्रा गरिरहेका बताए।

मनोमानी भाडा असुली

जिल्लामा प्रवेश गर्ने सवारी चापले नागरिकका स्वास्थ्य झन् जोखिममा पारेको त छ नै । यातायातका साधनले चाड पर्वको मौका छोपी असुल्ने चर्को भाडाले नागरिक झनै पीडित बनेका छन् । अनुमति प्राप्त बस लगायत सवारी साधनले समेत महँगो भाडा असुल्ने गरेका छन् भने त्यो भन्दा दोब्बर सोही रुट भएर यात्रु बोक्ने अनुमतिबिनाका जिपहरुले भाडा असुल्ने गरेका हुन ।

काठमाडौंदेखि उत्तर र जिल्ला सदरमुकाम विदूरदेखि पूर्वी भेग जोड्ने पञ्चकन्या, लिखु र शिवपुरी गाउँपालिकाका विभिन्न रुटमा चल्ने साना गाडी तथा जिपहरुले मनलाग्दो भाडा उठाउँदै आएको स्थानीयको गुनासो छ । साना सवारी साधनले पञ्चकन्या गाउँपालिका ४ आरुखर्कबाट दैनिक ५ सय रुपैयाँ भाडा असुल्ने गरेका छन् यद्यपि सोही सडकखण्डमा सञ्चालनमा आएको अर्को जिपले भने ४ सय रुपैयाँमा काठमाडौं पुर्‍याउने र काठमाडौंबाट नुवाकोट पुर्‍याउने गरेको छ ।

सामान्य अवस्थामा करिब ४५ किलोमिटरको दूरीमा उक्त सडक खण्डमा बस भाडा २ सय २० रुपैयाँ कायम गरिएको छ । दसैंमा आफूले घलेभन्ज्यासम्म ५ सय बस भाडा तिर्नु परेको स्थानीय वीरबहादुर तामाङ बताउँछन् । अवैध रुपमा यात्रु ओसारपसार गर्दै आएका जिपहरुले दैनिक ५ सय रुपैयाँ असुल्ने गरेका छन् । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न भनिए पनि बिना डिसइन्फेक्सन र यात्रु कोचाकोच गरी जिपहरु सञ्‍चालन भइरहेका छन् । तर स्थानीय प्रहरी प्रशासन र सरकारी निकाय यस विषयमा मौन देखिन्छन् ।

नुवाकोटको छहरेबाट टोखा यात्रा गरिरहेका विष्णु श्रेष्ठले अनावश्यक रुपमा बढी भाडा तिर्नुपरेको साझा पथसँग गुनासो गरे । उनले भने, ‘समस्यामा चढेको जिपले छहरे-टोखा ८ सय रुपैयाँ भाडा माग्यो । यद्यपि ठूला बसको तुलनामा यो भाडा आठौं गुणा ज्यादा हो,’ श्रेष्ठले भने, ‘हामीलाई उजुरी गर्ने कुनै संयन्त्र थाहा छैन । सर्वसाधारण दिनदाहाडै ठगिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्