इजाजतविना औषधि बिक्री वितरण गर्न खोज्ने ८ जना पक्राउ



चितवन पुस १ ।

इजाजतविना औषधि ल्याइ बिक्री वितरण गर्न खोज्ने ८ जना चितवनबाट पक्राउ परेका छन् ।

भारतबाट तस्कर गरी पर्साको ठोरी हुँदै चितवनको माडीतर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यालय माडीले विशेष सुराकीका आधारमा ३१ लाख पाँच हजार ६ सय ३३ रुपैयाँ बराबरको औषधि बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक इन्स्पेक्टर झलक शर्माको कमाण्डमा गएको टोलीले ना ४ ख ४४२५ नम्बरको गाडी जाँच गर्ने क्रममा अवैध औषधिसहित आठ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले बोरामा लुकाएर ल्याइएको एन्टिअक्सिडेण्ट, शिलाजित, नेट्रोभित्ता, क्याल्सियम आदि लेखेको औषधि बरामद गरेको छ । चितवन प्रहरी प्रमुख नातिराज गुरुङले औषधि व्यवस्था विभागसँग राय सल्लाह लिएअनुसार थप अनुसन्धानको कार्य भइरहेको बताए । प्रारम्भिक अनुसन्धानमा नेटवर्किङ व्यापारमा संलग्नहरूले बिक्री वितरणका लागि ल्याएको पाइएको बताए।

प्रहरीले बरामद गरेको औषधि नेपालमा प्रयोगको लागि स्वीकृत नभएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक देवेन्द्र यादवले बताए। पक्राउ पर्नेहरूमा कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुरगढी गाउँपालिका ८ का सुरज गौतम, वडा नम्रब ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडा नम्वर २३ बस्ने विपिन सापकोटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्