रुकुम पश्चिममा जीप दुर्घटना : दुई जनाको मृत्यु, १३ घाइते
रुकुम पश्चिम,कात्तिक २३ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।
आज दिउँसो १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो। जीप आठबिसकोट नगरपालिका–४ का २५ वर्षीय प्रदीप विकले चलाएका थिए।
दुर्घटनामा आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया विरता थापा गम्भीर घाइते भएका छन्।
त्यस्तै, २५ वर्षीया हिरा थापा र २ वर्षीय गौरव थापा मध्यम घाइते भएका छन्। २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी सामान्य घाइते भएका छन्।
घाइतेमध्ये सामान्य तथा मध्यम अवस्थाका ६ जनालाई दिउँसो १ः२० बजे उपचारका लागि नगर अस्पताल राडी पठाइएको छ। अन्य घाइतेलाई समेत उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरी चौकी गोतामकोटका प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा चार जना र इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक विजय चपागाईँको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।
दुर्घटनापछि चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त जीप भने घटनास्थलमै रहेको छ।

