देवकोटा जयन्तीमा दुई स्रष्टा सम्मानित, त्रिपाठीलाई ५१ हजार रुपैयाँ
काठमाडौं,कात्तिक २३ । ११८औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा नयाँ बस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवका अवसरमा दुई साहित्यिक स्रष्टालाई सम्मान गरिएको छ ।
गोकर्णेश्वर नगरपालिका–५ स्थित नयाँ बस्ती युवा क्लबले साहित्य क्षेत्रमा योगदान पुर्याएको भन्दै वरिष्ठ साहित्यकार प्राध्यापक डा. वासुदेव त्रिपाठी र युवा सर्जक एवं समाजसेवी निर्मल अर्याललाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
नेपाली समालोचना क्षेत्रका शिखर व्यक्तित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्राध्यापक डा. त्रिपाठीलाई ५१ हजार रुपैयाँ राशिको सम्मान प्रदान गरिएको छ । त्यस्तै, युवा सर्जक अर्याललाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति डा. गंगा उप्रेती तथा विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायतले सभ्य समाज निर्माणमा साहित्यको महत्वपूर्ण भूमिका रहने बताए ।
सम्मानित स्रष्टाद्वय त्रिपाठी र अर्यालले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रममा महाकवि देवकोटामा केन्द्रित साहित्यिक रचना वाचनसमेत गरिएको थियो ।
सोही अवसरमा क्लब परिसरमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको सालिकमा प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्मानित स्रष्टा, क्लबका पदाधिकारी, साहित्यिक संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणले माल्यार्पण गरेका थिए । क्लबका अध्यक्ष चन्द्रमणि गौतमले कार्यक्रमबारे जानकारी दिएका हुन् ।
कार्यक्रममा संविधानसभा सदस्य रामेश्वर फुयाल, गोकर्णेश्वर नगरपालिका–५ का वडाध्यक्ष एवं नगर प्रवक्ता नारायणबहादुर सुवेदी, वडा नं. ६ का वडाध्यक्ष नवराज लामालगायतको सहभागिता थियो ।
समाजसेवा, साहित्य, खेलकुद तथा स्वास्थ्यलगायतका क्षेत्रमा लामो समयदेखि विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको नयाँ बस्ती युवा क्लबले सक्रिय सामाजिक संस्थाका रूपमा पहिचान बनाएको छ ।

