उखु किसानको भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी



काठमाडौं पुस २ ।

नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए । उनले गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालयबाट आवश्यक कानूनी प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।

सर्लाही, रौतहट र नवलपरासीका चार चिनी मिलका सञ्चालकले विगत वर्षदेखि नै उखु किसानको बाँकी बक्यौता भुक्तानी गरेका छैनन् । पटकपटक ताकेता गर्दा भुक्तानी नदिएपछि किसान पुनः काठमाडौँ आएर आन्दोलन चलाइरहेका छन् ।

सोही विषयमा मङ्गलबार गृहमन्त्री राबहादुर थापासहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि विकासमन्त्री घनश्याम भुसाल र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठीसहितको बैठक बसेको थियो । बैठकले उनीहरुलाई पक्राउ गरी कारवाही गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्