स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा मेरो संलग्नता छैन : स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं पुस ३ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा आफू संलग्न नभएको बताएका छन् ।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री ढकालले यस्तो दाबी गरेका हुन्। बैठकमा सांसद्‍हरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले आफू अनियमिततमा संलग्न नभएको तर काम छिटो गर्न पहल गरेको दाबी दोहोर्‍याए।

अप्ठेरो स्थितिलाई मध्यनजर गरी छिटो छरितो काम गर्न पहल गरेको उनको भनाइ छ। विशेष परिस्थितिमा मन्त्रिपरिषद्‍ले सार्वजनिक खरिद गर्न बेग्लै नीतिगत व्यवस्था गरेकाले छोटो समयमा काम गर्न पहल गरिएको उनले बताए।

स्वास्थ्य सामग्रीको अभाव नेपाल मात्र नभएर विदेशमा पनि भएकोले तत्कालै नेपालमा ल्याउन लामो प्रक्रियालाई छोट्याउने व्यवस्था गरिएको समेत उनले उल्लेख गरे।

गत वर्ष चैतमा सरकारले मेडिकल सामग्री खरिदको ठेक्का दिँदा व्यापक भ्रष्टाचार गरेको भन्दै सरकारको आलोचना भएको थियो।

सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत प्रक्रिया पूरा नगरी मेडिकल साम्रीको ठेक्का ओम्नी ग्रुपलाई जिम्मा लगाएको उल्लेख गरेको थियो।

प्रतिक्रिया दिनुहोस्