शीतलहरको बेला सुकुम्बासीको घरमा लाग्यो डोजर, परिवारको बिचल्ली



सिराहा,पुष ७ । हिउँद लागेसँगै तराई–मधेसमा चिसो सिरेठो चल्न थालेको छ । अझ केही दिनयता शीतलहर पनि सुरु भएको छ ।

यस्तै वेला सिराहाको सिराहा नगरपालिका–२० लगडिगदियानी गाउँका ७५ वर्षीय वृद्ध रामवृक्ष यादव घरविहीन भएका छन् । उनी दुःखेसो गर्छन्, ‘सरकारले घर भत्काइदियो, बस्ने ठाउँ नै छैन ।’

उनका छोरा रोजगारीका लागि भारत गएका छन् । बुहारी र चार वर्षीया नातिनीसँगै बस्दै आएका उनी गत साता सिराहा नगरपालिकाले घर भत्काएपछि बिचल्लीमा परेका छन् ।

दिउँसो आकाश खुल्दा केही सहज हुने भए पनि बिहान–बेलुका अप्ठ्यारो हुने गरेको उनले बताए । ‘यही चिसोमा मर्छु कि भन्ने डर लागेको छ,’ रामवृक्षले भने । स्थानीय सरकारले भत्काएको घर छेउमै चार वर्षीया नातिनीसँगै घाम तापिरहेका उनी निराश देखिन्थे ।

उनका छिमेकी ५० वर्षीया सतिराम मुखियाको पनि उस्तै पीडा छ । सिराहा नगरपालिकाले सडक विस्तारका लागि उनको पनि घर भत्काएको छ ।

छिमेकीको घरमा आश्रय लिइरहेका सतिरामले भने, ‘चिसो बढ्दै गएको छ । यस्तो वेला ओत लाग्ने झुपडीसमेत भत्काइदिएपछि समस्यामा परेका छौँ । बालबच्चालाई चिसोबाट जोगाउनै मुस्किल भएको छ ।’

स्थानीय सरकारले लगडिगदियानी गाउँका ३० परिवार सुकुम्बासीको घर भत्काएको छ ।

गोलबजारबाट सीमावर्ती लगडिगदियानीसम्म २७ किलोमिटर सडक विस्तारका लागि सुकुम्बासीका घर भत्काइएको हो ।वैकल्पिक व्यवस्था नगरी शीतलहर चलिरहेका वेला घर भत्काएपछि सुकुम्बासी परिवार बिचल्लीमा परेका छन् ।

यस्तो चिसोमा वृद्धवृद्धा र बालबालिकालाई जोगाउनै मुस्किल भएको उनीहरूले दुःखेसो गरेका छन् ।यसअघि उनीहरूलाई स्थानीय सरकारले बसोवासका जग्गा दिने आश्वासन दिएको थियो ।

बस्ने व्यवस्था गरेपछि मात्रै घर भत्काउने बताएपछि उनीहरू ढुक्क थिए । तर, अहिले एकाएक घर भत्काएको लगडिगदियानी गाउँकी ५० वर्षीया रैवती मुखियाले गुनासो गरिन् ।

‘मजदुरी गरेर पेट पाल्दै आएका थियौँ,’ रैवतीले भनिन्, ‘कम्तीमा जाडोभर छोडिदिनुस्, त्यसपछि आफैँ भत्काउँछौँ भनेर बिन्तीभाउ गर्‍यौँ, कसैले सुनेनन् । नगरपालिकाले डोजर ल्याएर जबर्जस्ती भत्कायो । हाम्रो त बिचल्ली भएको छ ।’

मजदुरी गरेर मुस्किलले बनाएको घर भत्किएको उनले दुःखेसो गरिन् । उनले १० धुरमा घर बनाएकी थिइन् ।

आठ धुर जमिन सडकमा परेपछि घर भत्काएको बताइन् । ‘मुस्किलले बनाएको घर भत्काइदिए, अब दुई धुरमा के गर्नु ?’ उनले भनिन् ।

यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्