उपसभामुख तामाङद्वारा त्रिशूली अस्पतालमा आईसीयू उद्‌घाटन



नुवाकोट पुस ७ । नुवाकोटको त्रिशूली अस्पतालमा मंगलबारदेखि सघन कक्ष (आईसीयू) प्रारम्भ भएको छ ।

आईसीयू कक्षको वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले एक समारोहबीच मंगलबार उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै उपसभामुख तामाङले अस्पताललाई यो स्तरसम्म ल्याउनका निम्ति नेपाल सरकारका सबै निकायकै उत्तिकै भूमिका रहेको भन्दै १५ बाट २५ र २५ बाट ५० शय्यामा विस्तार गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिइन् । उनले आगामी दिनमा सय शय्या बनाउन बजेट छुट्टिसकेको जानकारी दिँदै आईसीयू, पीसीआर ल्याब स्थापना लगायतको विषय सुरु हुनु मात्रै होइन यसलाई निरन्तरन्ता दिनु पर्नेमा उनको जोड थियो । अझ निरन्तरता मात्रै ठूलो विषय नभएको भन्दै गुणस्तरीय सेवाका लागि पनि ध्यान दिनु पर्ने उपसभामुख तामाङले बताइन् । उनले यस अस्पतालमा दक्ष जनशक्तिलाई टिकाइराख्ने र नयाँ ल्याउने विषयमा पनि सोच्न पर्ने भन्दै जनप्रतिनिधिको तर्फबाट गम्भीर हुनुपर्नेमा आफू सचेत रहेको बताइन् ।

कार्यक्रममा प्रदेश सांसद एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, प्रदेश सांसद आशामाया तामाङ, जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका मेयर सन्जु पण्डित, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल लगायत सहभागी थिए ।

त्यस्तै कार्यक्रममा वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य प्रशासन प्रमुख पुरुषोत्तम सेढाईं, सोही मन्त्रालयअन्तर्गतका आपूर्ती विभाग प्रमुख वसन्त अधिकारी लगायतको उपस्थिति थियो ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष अर्जुनप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । मंगलबार नै उपसभामुख तामाङले त्रिशूली अस्पताल कर्मचारी आवास गृह समेत शिलान्यास गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्