भारतमा अर्को शनिवारदेखि कोरोनाविरुद्धको खोप



ऐजेन्सी पुस २५ ।

भारतमा अर्को शनिवार अर्थात माघ ३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिने भएको छ ।

भारतमा सबैभन्दा पहिला स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा रहेर कार्यरत व्यक्तिहरुलाई खोप लगाइने बताइएको छ । त्यसपछि ५० वर्षभन्दा बढी उमेर भएका व्यक्तिहरु तथा गम्भिर बिरामीसंग संघर्ष गरिरहेका ५० वर्षभन्दा कम उमेरका व्यक्तिहरुलाई खोप लगाइने छ । यसरी पहिलो चरणमा करिव २७ करोड मानिसहरुलाई खोप लगाइने छ । खोपका दुई डोज हुनेछन् ।

उनीहरुलाई २८ दिनभित्र दुबै खोप लगाइने छ । सबैले दुई पटक खोप लगाएपछि मात्र यसको सेड्यूल पुरा हुने छ । दोस्रो डोज लगाएको दुई हप्तापछि शरीरमा कोरोनाबाट बचाउने एन्टिबडी बनने छ । एन्टिबडी अर्थात शरीरमा रहेको त्यो प्रोटीन, जसले भाइरस, ब्याक्टेरिया, फंगस तथा प्यारासाइटको आक्रमणलाई प्रभावहिन बनाउने छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आज बोलाइएको उच्चस्तरीय छलफलको क्रममा उक्त कुराको जानकारी गराइएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत भारतीयहरुलाई वधाइ समेत दिएका छन् । भारतमा कोभिशिल्ड तथा कोभ्याक्सिनलाई कोरोना विरुद्धको खोपको रुपमा अनुमति मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्